नयाँ दिल्ली, 26 मार्च 2020
कोरोना भाइरसबाट प्रभावित अर्थव्यवस्था तथा गरिबको सहयोगका लागि भारतको केन्द्र सरकारले 1.70 लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ। केन्द्रीय अर्थमन्त्री नीर्मला सीतारमण तथा वित्त राज्यमन्त्री अनुराग ठाकूरले बिहिबार प्रधानमन्त्री गरिब कल्याण स्किम घोषणा गर्नुभएको हो। यस अनुसार अब प्रत्यक्ष पैसा ट्रान्सफर हुने र खाद्य सुरक्षाका अनुसार गरिबहरूलाई सहयोग गरिनेछ।
वित्तमन्त्री नीर्मला सीतारमणले अहिले लकडाउन भएको 36 घण्टा भएको र सरकारले प्रभावित तथा गरिबको सहयोगका निम्ति काम गरिरहेको बताउनुभएको छ। उहाँले 1.70 लाख करोडको प्याकेज ल्याइएको बताउँदै यो प्याकेजमार्फत् गरिबहरूलाई सहयोग गरिनेछ जानकारी दिनुभयो। वित्तमन्त्रीले यसका साथै स्वास्थ्य क्षेत्रमा काम गरिरहेका तथा कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मी तथा अन्य मेडिकलकर्मीलाई 50 लाख रुपैयाँ बराबरको बिमा गरिने पनि बताउनुभएको छ। उहाँले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनाअनुसार कोही पनि गरिब भोकै नरहने बताउनुभयो। हाल 80 करोडको लाभ दिएको र हरेक महिना 5 किलो गहुँ वा चामल प्रतिव्यक्ति निःशुल्क वितरण गरिने पनि उहाँले बताउनुभयो। अबका तीन महिनासम्म उनीहरुलाई अतिरिक्त 5 किलो गहुँ वा चामल दिइनेछ। प्रति परिवार 1 किलो दाल पनि दिइनेछ।
त्यस्तै, प्रधानमन्त्री गरिब धन योजनाअन्तर्गत किसान, मनोरोगी, गरिब, विधवा तथा अपाङ्गलाई सहज होस् भन्नका लागि सरकारले सहयोग गर्ने भएको छ। उहाँले किसानलाई दिइने 6 हजार रुपैयाँको पी.एम. किसान सम्मान निधि पनि यो अप्रिल महिनाको पहिलो सातामा प्रदान गरिने बताउनुभयो। वित्तमन्त्री सीतारमणका अनुसार अब भारत सरकारले गरिब, विधवा तथा अपाङ्गलाई 2 किस्ताभन्दा अतिरिक्त 1 हजार रुपैयाँ दिनेछ। यो आगामी तीन महिनासम्म प्रति महिना दिइनेछ।









































