काठमाडौं, 30 अक्तूबर 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएर पार्टीलाई निकै फाइदा भएको तर्क गर्नुभएको छ । शनिबार एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारबाट बाहिर निस्केपछि संगठनलाई मजबुद बनाउन आफूहरुले समय पाएको र यसले समग्र पार्टीलाई नै फाइदा भएको बताउनुभएको हो । त्यस्तै उहाले निर्वाचन आउन लागेपछि सरकारबाहिर बसेर संगठनको काममा लाग्दा पार्टीलाई फाइदा हुने तर्क पनि गर्नुभयो । एमाले अहिले भएका पार्टीहरुमध्ये सबैभन्दा योग्य रहेको दावी गर्दै उहाँले सम्पूर्ण सिट एमालेलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यस्तै एमालेमा रहेर एमालेलाई कमजोर बनाउन खोज्नेहरु बाहिरिएपछि पार्टीमा एकता भएको जिकिर गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश बिगार्नेहरुलाई नै कांग्रेसले लिएर हिडेको आरोप लगाउनुभयो । ओलीले महाधिवेशन गर्न नसक्ने गरी कांग्रेस बुढो भएको र महाधिवेशन गर्न नसक्ने कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने धारणा राख्नुभयो । त्यस्तै ओलीले आफु प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको प्रचण्डको आरोपको खण्डन गर्दै भान्सामा भाँडाकुँडा पनि आफ्नै लगेको बताउनुभएको हो । आफु साधारण तरिकाबाट जिउने व्यक्ति भएकाले आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ । ओलीले मंसिरमा हुने महाधिवेशनले पार्टीलाई थप मजबुद ढंगले अघि बढाउने दावी गर्नुभयो ।









































