काठमाडौं, 27 फरवरी 2023
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार मुख्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष विष्णु पौडेलले भने । पौडेलका अनुसार पार्टी बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।









































