काठमाडौं, 15 अप्रैल 2023
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपने बेला रहेको बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षलेसमेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन्। नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने धारणा राखेका हुन् ।
‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । उसलाई भ्याईनभ्याई हुनु पर्दछ । त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नु पर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ’, उनले भने ।
महामन्त्री थापाले ठीक ढंगले काम गर्न नसकेमा मुलुकको स्थिति बिग्रदै जाने पनि बताए ।









































