सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि
काठमाडौं, 13 नोभेम्बर 2023
सरकारले जाजरकोट भूकम्पको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ छुट्टाउने निर्णय गर्दै अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पनि सहयोग आह्वान गरेको छ ।
जाजरकोट भूकम्पको पुनर्निर्माणका लागि सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग मन्त्रिपरिषद्को आइतबार भएको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ पनि भूकम्प पुनर्निर्माण कोषमा सार्ने निर्णय गरेको हो ।
त्यसैगरी भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई आह्वान गर्ने समेत सरकारले निर्णय गरेको छ ।
‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने र थप रु. १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा रु. १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने’ निर्णयमा भनिएको छ ।
सरकारले जाजरकोट भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि स्थानीय तहमार्फत् आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णयले प्रभावित व्यक्तिहरुलाई तत्काल अस्थायी आवास निर्माणका लागि उपलब्ध गराउने ५० हजार रुपैयाँ विपद व्यवस्थापन कोषबाट स्थानीय तहमा पठाउने निर्णय गरेको हो ।
‘भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रति परिवार रु. ५०,००० उपलब्ध गराउने । यस्तो रकम विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहमा पठाउने र स्थानीय तहले परिवारको स्वघोषणा र सम्बन्धित वडाको सिफारिसमा लाभग्राहीको बैंक खातामा सीधै उपलब्ध गराउने । अनुदान रकम उपलब्ध गराउने कार्यविधि विपद् व्यवस्थापन कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘सहरी विकास मन्त्रालयले अस्थायी आवास निर्माणका लागि सम्बन्धित स्थानीय तहका प्राविधिकमार्फत् प्राविधिक सहयोग उपलब्ध गराउने ।’









































