सरकारले रास्वपाको अभियानका कारण भ्रष्टाचारका फाइल खोल्यो : लामिछाने
काठमाडौं, 31 जुलाई 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् ।
सोमबार सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।
लामिछानेले भ्रष्टाचारविरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताए ।उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र विभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको बताए। लामिछानले आगामी चुनावसम्म धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे।
लामिछानेले भने, ‘हाम्रो उपस्थितिले मात्रै पनि जुन ढंगले होसियारी देखिएको छ–ठाउँ ठाउँमा । सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ । यो आफैँमा एउटा राम्रो सङ्केत हो । यसलाई मैले गलत अर्थमा लिएको छैन । राम्रो सङ्केत हो यो ।’
उनले सुदूपश्चिमलाई सधैं दुर्गम बनाउन नहुने बताए। उनले बिरामी पर्दा काठमाडौँका जनताले जस्तै स्वास्थ्य सेवा पाउँछन् सुदूरपश्चिमका जनता सेवा पाउने बनाउनुपर्ने धारणा राखे। उनले सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन सबै लाग्नुपर्नेमा जोड दिए।
उनले भने, ‘मैले सरकारको कामकारबाहीलाई पनि भनेको छु कि जसरी भ्रष्टाचारको विरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो । सम्भवतः यो आगमनले काहीँ न काहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ । र, लाएकै हुनुपर्छ कि अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो के ? भन्ने लागेकै हुनुपर्छ । त्यस कारणले यो सङ्केत देखिएकै छ । ठिक छ । हामी खुसी छौँ ।’
यो समाचार पनि पढनुहोस्…









































