काठमाण्डौँ, 28 अप्रेल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्ध सांसद अपहरणको जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले पनि अस्वीकार गरेको छ। सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी दर्ता गर्न पुगेका जनता समाजवादीका नेताहरुलाई मंगलबार सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता नगरी फर्काइदिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु मंगलबार सरकारी वकिलको कार्यालयमा दर्ता गर्न पुगेका थिए। जनता समाजवादीका नेता राजेन्द्र महतोले सांसद अपहरण गरिएको सूचना दिन आएको अवस्थामा सूचना नलिने काम हुनुले कतै न कतैबाट परिचालित भएको स्पस्ट भएको बताउनुभयो। उहाँले यसबाट निरंकुसता कति सम्म बढेको छ भन्ने स्पष्टसँग प्रमाणित भएको बताउनुभयो। उहाँले नेपाली जनता यहि अवस्था आउनको लागि नलडेको बताउँदै अब आफुहरु फेरी जनतामा जाने बताउनुभयो
यस्तै अधिवक्ता दिनेश त्रिपाठीले सरकारी वकिलको कार्यालयले अध्ययन गरेर मात्रै जाहेरी दर्ता गर्ने या नगर्ने जवाफ दिने बताएकाले समय दिइएको बताउनुभयो। उहाँले उजुरी दर्ता लिने नलिने विषयमा बहस भएको र आफुहरुले स्पस्टसँग यहाँको क्षेत्राधिकार भएकोले दर्ता लिन आग्रह गरेको बताउनुभयो। सरकारी वकिलको कार्यालयले अध्ययनका लागि समय दिनुहोस भनेपछि एक दिनको समय दिइएको उहाँले बताउनुभयो।
नेकपमाका सांसद द्वय बस्नेत र श्रेष्ठ लगायत पूर्व प्रहरी महानिरीक्षक खनालले तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई यहि वैशाख १० गते महोत्तरीबाट काठमाडौं ल्याएका थिए। सांसद यादवले पार्टी फुटाउनकै लागि आफुलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको बताउँदै आउनुभएको छ।









































