काठमाडौं, 25 नवम्बर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो अवधिमै आन्तरिक सुरक्षामा उल्लेखनिय योगदान पुर्याएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले सीमा सुरक्षा विपद व्यवस्थापन लगायत आन्तरिक सुरक्षाका विभिन्न जिम्मेवारीहरु पुरा गर्दै जनता र सरकारको नजरमा विस्वाशीलो सुरक्षा निकायको रुपमा आफुलाई उभाएको बताउनुभयो । राष्ट्र एवं नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरीले पुर्याएको योगदानको प्रधानमन्त्री देउवाले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षालाई थप व्यवस्थित र मजबुत बनाउनका लागि आवश्यक थप जनशक्ति तथा कार्यसम्पादनमा चुस्त, दुरुस्त तथा थप प्रभावकारी ढङ्गले परिचालित हुन समयानुकूल आवश्यक ऐन तथा नियम तर्जुमाका साथै आवश्यक साधन श्रोतहरूको व्यवस्थापनमा प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी निरीक्षकहरूद्वारा सलामी अर्पण गर्नुकासाथै इज्जत अर्पण कवाज प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री देउवाले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टलाई खुँडा प्रदान गर्नुका साथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरूलाई समेत पुरस्कार प्रदान गर्नुभएको थियो ।









































