हेटौंडा, 8 नवम्बर 2022
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमै संघीय सरकार बन्ने बताएका छन्। आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ वटामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको बताए।
‘प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ नेतृत्वदायी भूमिकामा कांग्रेस रहेको छ भन्ने,’ उनले भने।
महतले सहमति नभए पनि कांग्रेसकै नेतृत्वमै आगामी सरकार अगाडि बढ्ने सम्भावना दोहोर्याएका छन्। उनले संविधानको रक्षा, व्यवस्थाको रक्षासहित र जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन गठबन्धन निर्माण भएको बताए।
महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै नेकपा ३ भागमा विभाजन गरेको भन्दै कांग्रेसले सोही विभाजित पार्टीलाई समेत मिलाएर हिँडेक बताए। महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यानडेट प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेको आरोप लगाए।









































