काठमाडौं, 21 फरवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई आज बिहान बालुवाटारमा भेट्दै उनले उक्त प्रतिबद्धता गरेका हुन् । ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्। उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो’, प्रधानमन्त्री प्रचण्डले भने। धनकुटाको चौबिसे गाउँपालिका–४ निवासी कार्की दुई वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।









































