सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ: निखिल उप्रेती
काठमाडौं, 9 जुन 2023
निखिल उप्रेती भारतको सिनेमा उद्योगमा व्यस्त भएको बेला निर्देशकको असिस्टेन्ट डाइरेक्टर भएर विभिन्न चलचित्रमा काम गरिरहेका थिए उनी । फाइट डिजाइनको पनि काम गर्थे । त्यही बेला संयोगले उनको भेट पवन मैनालीसँग भयो। उनले भने– निखिल, हामी चाँडै नेपाली फिल्ममा काम गर्नेछौँ । बोलाउँछु । आउनू । भेट हुँदा कतिपयले नयाँसँग आफ्नो पहुँच र सानसौकत देखाउन यस्ता कुरा गर्छन् । कतिपयले कसैले अपेक्षाको नजरले हेरे आश्वासन दिन पनि बढी बोल्छन् । निखिल यसमा अनविज्ञ थिएनन् । उनले पवनससँग अपेक्षा गरेका थिएनन् । त्यसैले उनका कुरामा खासै भरोसा पनि थिएन । तर, एक दिन तिनै पवनले निखिललाई बोलाए । अपेक्षा र भरोसा नै नगरेको बोलावट नै सही, निखिललाई लाग्यो– भरोसा गरेको व्यक्तिलाई निराश बनाउनु हुँदैन । इन्डियाबाट नेपाल आए । त्यति बेलासम्म न निखिलाई नेपाली कलाकारबारे उति धेरै जानकारी थियो न त नेपाली सिनेमाबारे नै । इन्डियामै हुर्किए, उतै बसे/पढेका उनलाई नेपाली सिनेमा उद्योगबारे जानकारी नहुनु नौलो पनि थिएन ।

पवनले नेपाली कलाकार र निर्देशकसँगको भेटमा निखिललाई चिनाउन थाले । कलाकार र निर्देशकलाई पवन निखिललाई चिनाउँदै भन्थे– ऊ निखिल, हाम्रो फिल्म ‘पिँजडा’को हिरो ।
‘यस्तो च्याँसे पनि हिरो हुन्छ ? यही हो एक्सन गर्ने भनेको हिरो ?’ निखिलकै अगाडि उनीहरू पवनलाई प्रश्न गर्थे । निखिललाई खिसीटिउरी गर्थे ।
निखिललाई लाग्थ्यो– कस्तो संस्कार हो यो ? कति साह्रो अपमान ?
पवन निखिललाई थामथुम पार्दै भन्थे, ‘निखिल, माइन्ड नगर । यहाँका मान्छे यस्तै छन् । काम गरेर देखाउने हो । भोलि यिनको मुख आफैँ बन्ती हुन्छ ।’
एक मनले उनलाई लाग्थ्यो– म आफैँ यस्तो दुब्लो, च्याँसे छु, कुन एंगलले हिरो छु र वाह ! भनून् ?
निखिल नेपाली रजतपटका सुरुआती क्षण सम्झिन्छन्, “मेरो आवरण जस्तोसुकै होस्, कम्तीमा व्यक्तिको सम्मान गर्न त जान्नुपर्छ । बोल्ने तरिका त सही हुनुपर्छ ।”
नयाँ ठाउँ, नयाँ व्यक्ति के नै गर्न सक्थे र निखिल ! सहन्थे । चुपचाप बस्थे । विकल्प पनि थिएन । मात्र उनले सोचे– यो हदसम्मको कुरा हुँदो रहेछ यहाँ ।
पवनले भने, ‘फाइटको सिक्वेन्स बनाउनुपर्छ ।’ गर्नुपर्ने त फाइट डाइरेक्टरले थियो । तर, भरोसा गरेर पवनले भनेपछि फाइटका सिक्वेन्स निखिलले नै बनाए ।
“एक–दुईजना फाइट डाइरेक्टरले भने– तँ फाइट डाइरेक्टर ? तँलाइ के आउँछ ?,” नाम त निखिल खुलाउँदैनन्, तर त्यो समयको तितो सुनाउनबाट आफूलाई रोक्न सक्तैनन्, “मेरै अगाडि पवन दाइलाई भन्थे– ए पवन, खुब गफ दिन्थिस् त बलिउडमा काम गरिरहेको हिरो ल्याउँछु भनेर, यही च्याँसेलाई लिएर आ’को हो ? यही हो तेरो खतरा हिरो ?”
पवन भन्थे, ‘ज्यान हेरेर नबोल न । उसले गरेको एक्सनको भिडियो देखाउँछु । हेरेर कुरा गर !’
तर, पवनलाई उनीहरूले पत्याएनन् । भिडियो देखाउँछु भन्दा पनि हेर्दैनथे ।
‘दाइ, त्यो मान्छेले ममाथि त प्रश्न उठायो, ऊचाहिँ राम्रै फाइट डाइरेक्टर हो ? उसले गरेको काम मलाई देखाउनुस् त,’ बलिउड र साउथका टपटप फाइट डाइरेक्टरसँग काम गरिसकेका निखिलले पवनलाई भने ।
निखिलले भारतमा राम्रै प्रभाव जमाउन थालेका थिए । कारण, निखिल कुम्फु र तेक्वान्दोको ब्ल्याक बेल्ट थिए । त्यसले उनलाई सहयोग गरेको थियो ।
‘पिँजडा’को काम सुरु भयो । साउथ र बलिउडमा काम गरेका उनलाई यहाँका फाइट डाइरेक्टरको काम चित्त नबुझ्नु स्वाभाविक थियो । पवन भन्थे, ‘यहाँ यस्तै हो, छोड्देऊ ।’
पछि ‘पिँजडा’बाट ती फाइट डाइरेक्टर परिवर्तन भए । एनबी महर्जन भित्रिए । एनबी केही फ्लेक्जिवल लाग्यो निखिललाई । निखिल फाइटका पञ्चहरू बनाउँथे । एनबी नगरौँ त भन्दैन थिए, तर ‘सकिन्छ ?’ भनेर प्रश्न गर्थे – कहिले जिब्रोले, कहिले आँखाले ।
यहाँका लागि नयाँ भए पनि निखिलका लागि त्यो काम नौलो थिएन । उनले बलिउडबाट अर्का स्टन्ट माइन्डलाई सँगै लिएर आएका थिए । उनी थिए, हिरालाल यादव – जो अहिले बलिउडका टप फाइट डाइरेक्टरमध्येका एक हुन् । उनी ‘पिँजडा’को सुटिङभर नेपाल बसे ।
भरोसा गरेर पवनले बोलाए । केही त नयाँ गर्नैपर्यो । के गर्ने ? अग्लो कुनै बिल्डिङबाट हामफालौँ भन्ने सोच आयो । सुरु भयो बिल्डिङको खोजी । अहिलेजस्तो अग्लाअग्ला घर थिएनन्, त्यो समय । त्यसैले उनीहरू पुगे धरहरा । धरहराबाट हामफाल्न प्राविधिक रूपमा नमिल्ने टुंगो लाग्यो । पहिलो कारण, तलाको संरचना । दोस्रो, पुरातत्त्व विभागले दिँदैन थियो । त्यसपछि उनीहरू पुगे तीनकुनेस्थित कान्तिपुर पब्लिकेसनको साततले बिल्डिङ । छत होइन, झ्यालबाट जम्प गर्ने कथा थियो । जम्प त गर्ने तर कसरी ? सुरक्षाको प्रशस्त प्रबन्ध गर्नुपर्ने थियो । सामान्यतः तल फर्म, कार्टुन या यस्तै केही चिज ओछ्याएर हामफाल्ने प्रचलन छ ।
फाइट डाइरेक्टरले कार्टुनको व्यवस्था गर्ने भए । एक हप्ताभन्दा बढी समय लगाएर बियर र टेलिभिजनका विभिन्न कम्पनीबाट ठूलो संख्यामा कार्टुन ल्याइयो । त्यो बेला ७५ हजार रुपैयाँको कार्टुन मात्र किनेको निखिललाई सम्झना छ ।
“म बिहान चाँडै जम्प गर्नुपर्छ भनिरहेको थिएँ । कारण, जति दिन छिप्पिँदै जान्थ्यो, त्यति हावा चल्थ्यो । जति धेरै हावा चल्छ, त्यति नै धेरै रिस्क बढ्दै जान्छ । म चाँडो गरौँ भनेर भनिरहेको थिएँ । तर, विभिन्न कारणले ढिलो भइरहेको थियो,” निखिल भन्छन्, “अन्ततः जम्प गर्ने समय आयो । मैले आफूलाई तयार गरिरहेको थिएँ । प्रेसर हाई गरेर आफूलाई तयार पारिरहेको थिएँ । प्रेसर हाई बनाउन सकिएन भने यस्तो रिस्क लिनै सकिँदैन ।”
अहिलेको जस्तो त्यो समय मिडिया छ्यापछ्याप्ती थिएन । तर पनि तीनचारवटा टेलिभिजनका क्यामेरा निखिलको सात तला माथिदेखिको जम्पको सट खिच्न तयार थिए । पत्रकार अन्तर्वार्ता लिन तयार थिए । सात तलामाथि पत्रकार जयप्रकाश रिजालले रेडियोका लागि अन्तर्वार्ता लिए । केहीले लाइभ समेत गरे ।
अन्ततः उनी बिल्डिङको सात तलाको झ्यालबाट हामफाले । कुम्फु र तेक्वान्दोको खेलाडी भएका कारण कसरी हामफाल्दा चोट लाग्दैन भन्ने थाहा थियो । हिप वा खुट्टाले टेक्न सके बाँचिन्थ्यो । घोप्टो वा उत्तानो परेर अथवा टाउको ठोक्किए ज्यान बँच्दैन थियो । त्यस्तो उनले साउथ र बलिउडमा गरिसकेका थिए । उनीसँगै अर्को हिरोको डुप्लिकेट बनेर उनैले सँगै लिएर आएका हिरालालले पनि सात तलामाथिबाट जम्प गरे ।
जब उनी जम्प गरेर तल झरे, नाकबाट रगत बग्न सुरु भयो । निर्माण टिम आत्तियो । तर, निखिललाई देख्नेले सोचेजस्तो गाह्रो भएको थिएन । रगत त प्रेसर हाई भएकाले आएको थियो । त्यो उनलाई अनुभव गरिसकेकाले थाहा थियो ।
रेडियो/टेलिभिजनमा समाचार आयो । भोलिपल्टका अखबारमा खबर छायो । साप्ताहिक, पाक्षिक र मासिक पत्रिकामा महिनाभर नै निखिल छाइरहे । तर, दिनेश उप्रेतीको नाममा । अर्थात्, उनको नाम निखिल होइन, दिनेश थियो ।

उनले नाम परिर्वतन गरेर राखे, निखिल । दिनेशबाट त्यति धेरै चर्चा पाएका उनको नाम तत्कालै निखिलमा रूपान्तरण भयो ।
सात तलाबाट जम्प गर्ने हिरो भनेर गजबको चर्चा भयो । सिनेमामा अफर गर्ने प्रोडुसरको लाइन लाग्न थाल्यो । चर्चा यति धेरै थियो, जहाँ सुटिङ गर्न गए पनि उनलाई हेर्न टाढाटाढाबाट मान्छे आउँथे । दुब्लो–पातलो निखिललाई जब देख्थे, सात तलाबाट हामफाल्ने हिरो यही हो भनेर विश्वास गर्नै उनीहरूलाई गाह्रो हुन्थ्यो ।
सिनेमाको छायांकन चलिरहेको थियो । निर्देशकले भने– निखिल, भोलि बिहान ७ बजे चोभारमा छायांकन छ ।
निर्देशकले भनेपछि होला त नि ! बलिउडमा टाइम टु टाइम काम गरेका निखिल ठिक ७ बजे चोभार पुगे । चलचित्रका कोही मन्छे छैन ।
‘म त झुक्किइनँ ?’
फोन गर्न मोबाइल थिएन । बसिरहे । धेरै बेर कुरेपछि बल्ल स्पोर्ट ब्वाइहरूको भ्यान आयो ।
“नयाँ हिरो बिहानै आएर पर्खेर बसेको छ भन्ने उनीहरूको मनोविज्ञान मैले पढेँ,” निखिल बेथितिको किस्सा सम्झिन्छन्, “विस्तारै मैले यो सिनेमा उद्योगबारे बुझ्न थालेँ । नचाहेरै यही माहोलमा भिझ्दै गएँ ।”
जब निखिलले नेपाली चलचित्र उद्योगलाई बुझ्दै गए, उनले थाहा पाए – फाइटर आफूलाई ‘डन’ सम्झिन्थे, फाइट डाइरेक्टररू आफूलाई सुपर डन । जबकि, बलिउडमा यसको ठिक उल्टो हुन्थ्यो ।
यहाँ त फाइटरहरू हिरोलाई फाइट सिकाउने निहुँ पारेर किक हान्थे, त्यो पनि चोट लाग्ने गरी । फाइट डाइरेक्टर आफूलाई डन कसरी बनाइरहने भनेर उल्टो बुद्धि लगाउँथे । देखेर निखिल ट्वाँ पर्थे ।
त्यसपछि निखिलले आफैँ चलचित्र बनाए, ‘सावधान’ । दिनेश डीसीलाई निर्देशक लिए । सिनेमाले फड्को मारोस् भनेर पोस्टप्रोडक्सनको काम साढे ११ लाख रुपैयाँ खर्चिएर अष्ट्रेलियामा गरे । इन्डियामा पनि त्यति बेला भर्खरै मात्र सुरु भएको टेप टु फिल्म (भिडियोमा खिचेर सिनेम्याटिक गर्ने प्रविधि) प्रविधिबाट काम गरे । पर फ्रेमको पैसा लाग्यो । उनले चलचित्र क्षेत्रको विकासका लागि काम गरे । उल्टै उनलाई उनकै सहकर्मीले उडाउन थाले– सेलुलाइडको जमानामा भिडियो यसले कहाँबाट ल्यायो ?
“यति पेलियो मलाई, सिनेमा नै फ्लप बनाएर छोडे । बरु, अहिलेको जेनेरेसनले ‘तपाईंले त्यही बेला यो प्रविधि भित्र्याउनुभएको थियो नि’ भनेर छक्क पर्छन् । मैले जुन प्रविधि त्यो बेला प्रयोग गरेँ, अहिले पनि त्यो नेपाली सिनेमाले प्रयोग गरेको छैन,” निखिल जिकिर गर्छन् ।
निखिल प्रोडुसर भए । आफ्नो सिनेमाको लेखनमा जान्थे । त्यहाँ ठूलठूला कुरा हुन्थे, तर सिनेमाको होइन । अरू नै कुरा । उनी अगाडि थप्छन्, “त्यहाँ सिर्फ चल्थ्यो दारु । राइटर एक्लै भएका बेला लेख्थ्यो । त्यहाँ हुनुपर्ने छलफल केही हुँदैन थियो ।”

हरेक चलचित्रको छायांकनपूर्व लोकेसन हन्टिङ भन्दै निर्देशक, निर्माता र केही कलाकार जान्थे । निखिल यसलाई राम्रो लोकेसनको खोजीभन्दा पनि घर छोडेर फ्रेस हुने बहाना मात्रको संज्ञा दिन्छन् । पहिलो सिनेमाबाटै लोभलाग्दो हाइप बनाए । चलचित्रमा काम गर्न अफर गर्नेको भीड लाग्यो । तर, निखिल ‘चुजी’ भए । निर्णय लिए– थोरै सिनेमा गर्छु, राम्रा मात्रै । मिहिनेत गर्छु, राम्रो काम गर्छु ।









































