काठमाडौं, ४ फेब्रुअरी
युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएकी छिन् ।
यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिका बारेमा जानकारी लिएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिइन् ।
युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । पाँचदेखि १२ वर्ष उमेर समूहका करीब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन् । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन् । युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।









































