काठमाडौं, 18 अक्तूबर 2021
सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उहाले बताउनुभयो । बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै बैठकले आर्थिक कार्यबिधि एवं बित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।









































