काठमाण्डौँ, 7 फरवरी 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताउनुभएको छ। काठमाडौँमा रहेको सार्क सचिवालयको भ्रमण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताउनुभएको हो।
उहाँले सार्कको 19-औँ शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्नुहुँदै ओलीले 19-औँ सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो।

सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिबद्धता जनाएको पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवासमेत रोप्नु भएको छ।










































