सिक्किम, 15 नवम्बर 2021
सिक्किममा सुटिङ गर्ने नेपाली फिल्मलाई भारतको सिक्किम राज्यका एक मन्त्रीले १ करोडसम्म अनुदान दिने बताएपछि नेपाली फिल्मकर्मीका आँखा चौडा भएका छन् भने १ करोड भारु अर्थात् १ करोड ६० लाख नेपाली रुपैयाँ भएपछि लगभग धेरै नेपाली फिल्मको काम सकिन्छ । नेपाली निर्माताले सिक्किम सरकारको यो अनुदान पाउँदै आएका छन् तर १ करोड भारु नै पाउने भएपछि भने धेरै नेपाली निर्माता सिक्किम सरकारको अफरप्रति उत्सुक बन्न थालेका छन् । निर्माता भुवन केसी ‘बितेका पल’ निर्माता राजेश घतानीलाई लिएर सिक्किम पुगेका हुन् । एक महिनाअघि सिक्किमका एक मन्त्रीलाई एभरेस्ट होटलमा उनै घतानीले फिल्मकर्मीसँग भेट गराएका थिए । उक्त समयमा भुवन केसी र ती मन्त्रीका बीच पनि भेट भएको थियो । भुवन केसीलाई मन्त्रीले नै सिक्किम सरकार भुवन केसीजस्ता निर्मातासँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । मन्त्रीको यही इच्छालाई मध्येनजर गर्दै निर्माता केसी राजेश घतानीलाई साथ लिएर सिक्किम पुगेका हुन् । भुवन केसीले तीन तीन वटा फिल्म घोषणा गरेर बसेका छन् । आफ्नै घरबाट घोषणा भएका फिल्म छाडेर अनमोल अरुले बनाउन लागेको ‘एक्स नाइन’ खेल्दैछन् । जबकि यो फिल्म परिदृश्यमा नआउँदै भुवन केसीले अनमोललाई मुख्य भूमिकामा लिने गरी ‘एन्टि हिरो’ ‘पारस’ र ‘माइतीघर २’घोषणा गरेका थिए । तर काम सुरु हुँदैछ ‘एक्स नाइन’को ।