सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सरकारले सीआईबीलाई दिने
काठमाडौं, 4 अगस्ट 2023
सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास पूरा गरी बाहिर ल्याइएको झण्डै एक क्वीन्टल सुन प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।
सो सुन तस्करीमा संलग्नहरूको सीधा सम्पर्क सत्तारुढ माओवादी केन्द्रका उच्च तहका नेतासँग भएको पाइएपछि घटनाक्रमले नयाँ मोड लिएको हो ।
अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टीकृत निकाय भएकाले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।
उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।
यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।
क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ ।