काठमाडौं, 1 नवम्बर 2021
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर लगानीका लागि बैंकबाट सेयर कर्जा लिन पाउने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले सेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गर्नुभएको हो । सेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको भन्दै उहाले यसलाई खुला छाड्यो भने आकार बढ्दै जाने तर्क गर्नुभयो । सेयर बजारप्रति कुनै धारणा बनाउन उक्त निति नल्याएको भन्दै उहाले साना लगानीकर्तालाई पनि अवसर दिन ल्याएको नीति भएको धारणा राख्नुभयो । त्यस्तै अधिकारीले तरलता कम भएकै कारणले ऋण लिनै नपाउने अवस्था आउन नदिने बताउनुभयो । बैंकहरुमा भएको तरलता अभाव बैंकहरुकै कारण भएको उहाको भनाई छ । गभर्नर अधिकारीले तरलताका लागि करिब ७ खर्ब रुपैयाँको सुरक्षण बेच्ने क्षमता रहेकाले तरलता अभाव हुन नदिने बताउनुभयो ।









































