काठमाडौं, 17 दिसम्बर 2021
स्थानीय तहहरुमा बेरुजु कम गर्न अनेकौ समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । काठमाडौँमा भएको स्थानीय तहमा जवाफदेहिता र पारदर्शिता प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा स्थानीय तहमा सुशासन प्रवद्र्धन र बेरुजु कम गर्न विभिन्न खालका ब्यवहारिक र प्राविधिक समस्याहरु रहेको सरोकारवालाले बताएका हुन् । एशिया फाउन्डेसन र सामुदायिक सारथी संस्थाले गरेको कार्यक्रममा गाउँपालिका महासँघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले केही कमीकमजोरीहरु स्वीकारेर तिनलाई सुधार्ने प्रयत्न थालिएको जानकारी दिंदै कतिपय अवस्थामा प्राविधिक कारणले पनि बेरुजु बढेको देखिएको उदाहरण पेश गर्नुभयो । कानूनको कार्यान्वयनको समस्या, उपभोक्ता समितिको भूमिका, कर्मचारी अभाव, कम र अदक्ष जनशक्ति, महालेखा नियन्त्रणकको कार्यालयका केही त्रुटि जस्ता कारणले बेरुजु देखिएको भन्दै सबै बेरुजु भ्रष्टाचार नै हो भन्ने हिसाबले ब्याख्या गर्नु पनि नहुने उहाको भनाई छ । गाउँपालिका महासंघका सदस्य तथा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहमा सुशासन प्रवद्र्धनमा सवै पक्ष जिम्मेवार हुने तर पालिकाका अध्यक्ष उपाध्यक्षले मात्र गरिरहेको जस्तो गरि प्रचार गरिएको बताउनुभयो । सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले काभ्रे जिल्लाका १३ वटा स्थानीय तहमा गरिएको सर्वेक्षको नजिता पेश गर्दै सुशासनका दृष्टिले स्थानीय तहको कार्यसम्पादन चित्त बुझ्दो नरहेको बताउनुभयो ।









































