28 अक्तूबर 2021
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा आज स्पेनका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठसहित प्रदेशसभा सचिव र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा स्पेनका प्रान्तीय मन्त्री, मेयर, व्यवसायीहरु रहेका छन् । ६ दिने नेपाल भ्रमणमा स्पेनको प्रतिनिधिमण्डलले विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन गर्ने बागमती प्रदेशसभा सचिवले जनाए । उनका अनुसार प्रतिनिधिमण्डलले पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र लुम्बिनी (गौतम बुद्धको जन्मस्थल)मा आयोजना हुने कार्यक्रममा सहभागी हुने, सोयम्भुनाथको दर्शन गर्ने र बुद्ध विहारमा बत्ती बाल्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम छ भने परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्रीसँग पनि भेटवार्ता गर्नेछ ।









































