काठमाडौं, 19 नवम्बर
प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनिकरण हुने विश्वास गर्नुभयो । हस्तकला क्षेत्रमा देखिएको कर सम्बन्धि समस्यालाई सहजिकरण गर्ने उहाँले बताउनुभयो । उहाँले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राख्नुभयो । मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिता अन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिनुभयो ।









































