काठमाडौं, 27 फरवरी 2023
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई कसैले कम नआँक्न चेतावनी दिएका छन्। सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरुको महत्व बुझेको टिप्पणी गरे ।
‘हामीलाई कसैले वेवास्ता गरेर यो मुलुक चलाउँछु भन्छ भने समयमै सेचत भएर चलोस्। हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन,’ अध्यक्ष नेपालले भने।
यस्तै, फागुन १३ मा बनेको गठबन्धनले राजनीतिको कोर्स नै परिवर्तन गर्ने उनको भनाइ छ। आफूहरू आँट गर्ने पार्टीको मान्छे भएको नेपालको दाबी छ।
उनले भने ‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ नेपालले भने, ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’









































