काठमाडौं, 27 फरवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताएका छन् । गोरखास्थित विकास हाइड्रोको सोमबार बिहान बालुवाटारबाट विद्युतीय माध्यमबाट उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं।’
विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त रहेको बताएका छन् ।
उनले भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ । यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ ।’
प्रधानमन्त्रीले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिएका छन् ।









































