हिमाचलमा एकै परिवारका ३ नेपालीको पहिरोमा परी ज्यान गयो
दिल्ली, 11 जुलाई 2023
रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न आएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ । त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा ज्यान गएको हो । मृतकका साइँला भाइका छोरा किरण ओलीले दिएको जानकारी अनुसार सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासि पहिरो आएपछि उनीहरुको ज्यान गएको हो।
एक वर्षअघि मजदुरी गर्न भारत आएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा आएको बताउँदै किरणले जेठो छोरा काममा गएका बेला घरमा रहेका तीन जनाको ज्यान गएको बताए ।
‘ठूला बुबाका जम्मा ४ सन्तानमध्ये दुई छोरी गाउँमै बिहे गरेर बस्नुभएको छ,‘ उनले भने, ‘बाँकी अन्य सबै परिवार भारतमै हुनुहुन्थ्यो । आज यो दुःखद् खबर सुन्नुपर्यो ।‘
जेठो छोरा लोकेन्द्र ओली २०७८ फागुनमा वैदेशिक रोजगारीका लागी मलेसिया गएको र त्यहाँ बिरामी परेपछि दुई महिनामामै फर्किएको बताउँदै किरणले छोराको उपचारका लागि कमाउन भनेर दीपबहादुर भारत आएको जनाए ।
उनीहरुको शव घर ल्याउने तयारी भइरहेको भए पनि घटनास्थलमा पहिरोका कारण बाटो नभएकाले गाह्रो परेको परिवारको भनाइ छ ।
भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए। तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका हुन्।