हिमाचल प्रदेश, 9 मार्च
नेपाल-भारत बिचको मैत्री सम्बन्ध विश्वका कुनैपनि 2 मूलुक भन्दा फरक र प्रगाढ छ । सन 1950 मा भएको मैत्री सन्धीको जग मात्रै नभएर 2 देशबिचको समान परम्परा, रहनसहन र संस्कृतिका कारण पनि अन्ततः 2 मूलुकबिचको सम्बन्ध अनौठो प्रकारको छ । विभिन्न समयमा 2 देशको सम्बन्धमा तिक्तता आउने गरेपनि जन-जनबिचको सम्बन्धमा भने कुनै असर पर्दैन । यही उदहारण हामी अहिले भारतको एक राज्य हिमाचल प्रदेशमा देख्न सक्छौ ।

भारतमा नेपाली नागरिकलाई अब पहिला जस्तो सरकारी जागिरमा स्थान दिन कम भइसकेको अवस्थामा भने हिमाचल प्रदेशमा नेपाली नागरिकताकै आधारमा सरकारी नौकरी गर्ने नेपालीहरुको संख्या धेरै छ । यहाँको सरकारले अहिले पनि नेपाली नागरिकलाई विभिन्न विभागहरुमा स्थायी गरिरहेको छ । यसै सन्दर्भमा गत महिना लोक निर्माण विभागको सडक निर्माणमा स्थायी गरिएका 26 मेशन (मिस्त्री) ले पहिलो तलब पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज राज्यका वन, खेल एंव कोर्पोरेशन मन्त्री गोविन्द सिंह ठाकुरलाई भेटेर आभार व्यक्त गरेको छ । मूल प्रवाहले गत वर्ष गरेको तीज कार्यक्रममा मन्त्री ठाकुरलाई बोलाएर ती 26 मेशनहरुलाई स्थायी गर्न आग्रह गरेको थियो । त्यसपछि मन्त्री ठाकुरको निर्देशनमा उनिहरुलाई स्थायी गरिएको थियो ।
आज मनालीको सर्कीट हाउसमा मूल प्रवाह कुल्लु मनालीका अध्यक्ष साईला लामाको नेतृत्वमा उपाध्यक्ष रतनलाल पुन, सचिव तुलाराम, भूतपूर्व प्रधान जयबहादुर, कोषाध्यक्ष रवि पुन, महिला संगठन अध्यक्ष कमला शाही र कार्यकर्ताहरु सुनिता पुन, रामबहादुर, सुक लामा, संजु, फुर्वा लगायतको टोलीले मन्त्रीलाई सम्मानसहित फोटोफ्रेम हस्तान्तारण गरेको हो । कार्यक्रममा बोल्दै मन्त्री ठाकुरले हिमाचलमा रहेका नेपालीहरुको साथमा सँधै रहेको र आगामी दिनहरुमा पनि नेपालीहरुका लागि काम गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।









































