दिल्ली, 1 जुलाई 2022
पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा बिहीबार छापा मार्दा कास्की प्रहरीले ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरूलाई गरेको हो।
पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाए।
उनका अनुसार पक्राउ पर्ने नेपाली ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। तीनै जना चिनियाँ नागरिकको भने पहिचान खुलेको छैन। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्। उनीहरूले परिचय खुल्ने कागजात देखाएपछि मात्र वास्तविक पहिचान खुल्ने डिएसपी तिवारीले बताए। कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको डिएसपी तिवारीले बताए।
‘उहाँहरूले आफ्ना पहिचान खुल्ने कागजात र रकमको स्रोत खुलाउने कागजात मगाउँछौं भन्नुभएको छ,’ उनले भने, ‘यस विषयलाई हेर्ने अन्य निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउँछौं।’
पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूका गतिविधि विस्तृत अनुसन्धान पश्चातमात्र यथार्थ पत्ता लाग्ने डिएसपी तिवारीले बताए।









































