नयाँदिल्ली,३१ जनवरी
युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुने भएको छ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन निर्णय गरेको छ ।
ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।
अब ब्रिटेनले ईयूको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिने छ । यससँगै ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट पनि अलग हुनेछ ।
त्यसैगरी औषधिदेखि ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका बिभिन्न प्रशासकीय निकायहरूको सदस्यता पनि अन्त्य हुनेछ । ईयूलाई ब्रिटेनले वार्षिक दिँदै आएको नौ अर्ब पाउन्ड बजेट पनि दिनुपर्ने छैन ।
छोटकरीमा ईयू भनिने युरोपेली युनियन २८ यूरोपेली देशहरुको एउटा संगठन हो । यसको निर्माण दोस्रो विश्वयुद्धपछि आर्थिक सहायता बढाउन गरिएको थियो । युरोपेली युनियनको आफ्नै मुद्रा छ यूरो, जुन १९ सदस्य राष्ट्रले प्रयोग गर्छन् । तर बेलायतको मुद्रा भने पाउन्ड नै छ ।
ईयूबाट अलग्गिनका लागि बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गर्नुपर्छ । त्यसपछि दुवै पक्षले दुई वर्ष्भित्र अलग हुने शर्तमा सहमति जनाउनुपर्छ । सदस्यता छोड्ने शर्तमा २७ सदस्य राष्ट्रका संसदहरुको पनि सहमति लिनु जरुरी हुन्छ ।









































