पोखरा, 13 अक्टूबर 2022
नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरा रंगशालामा हुने उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्। यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्।उद्घाटन सत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी, विद्यार्थी लगायतले विभिन्न डेमो प्रदर्शन गर्ने छन्। उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोलीले मार्च पास सहित सलामी अर्पण गर्ने कार्यक्रम छ। उद्घाटनकै वेलामा कलाकारले सांगीतिक प्रस्तुति दिने र विद्यार्थीले सामूहिक नृत्य गर्ने तयारी पनि भइरहेको छ। उद्घाटन कार्यक्रम झण्डै दुई घण्टा चल्ने छ।उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो ३ : ३० बजे पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको औपचारिक कार्यक्रम हुने रंगशालालाई आकर्षक बनाइएको छ।









































