कैलाली, 6 फरवरी 2020/ हिम शाह
भोजपुरी फिल्म उद्योगमा समेत हिट फिल्म दिएर नेपाली फिल्म उद्योगमा कमब्याक भएका विराज भट्टको फिल्म ‘साङ्लो’-लाई मल्टिप्लेक्स हलले कम शो दिएको छ। भोलिदेखि नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मले सिङ्गल थिएटरमा आक्रामक व्यापार गर्ने अनुमान गरिए पनि मल्टिप्लेक्स हलमा भने शो नै कम पाएको हो। यद्यपि, नेपालमा पछिल्लो समय बढी व्यापार हुने नै मल्टिप्लेक्स हलमा हो।
विराज भट्टले निर्देशन गरेको फिल्म ‘साङ्लो’-मा भट्टकै शीर्ष भूमिका छ भने, निकिता चाण्डकले पनि मुख्य भूमिका निभाएकी छन्। एक्सन प्याक फिल्म भनिएको हललाई मल्टिप्लेक्स हलमा खासै शो दिइएको छैन। विदेशी एक्सन फिल्मले भने नेपालका हलमा पर्याप्त शो पाउने गरेका छन्। मल्टिप्लेक्सको ठूलो चेन भएको हल क्युएफएक्सले फिल्म ‘सेल्फी किङ’-लाई शुक्रबार मात्र नेपालभर 35 शो दिएको छ। यस्तै फिल्मले राजधानीमा मात्र शुक्रवारलाई 20 शो पाएको छ। विराजको ‘साङ्लो’ ले भने क्युएफएक्स चेनमा जम्मा 11 शो पाएको छ। त्योमध्ये राजधानीमा 4 शो दिएको छ।
नेपालमा अन्य मल्टिप्लेक्स हलमा पनि ‘सेल्फी किङ’-लाई पर्याप्त शो दिइएको छ भने ‘साङ्लो’-लाई एक या दुई शो मा सीमित गरिएको छ। भोलिदेखि प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ र ‘सेल्फी किङ’ दुवैको चर्चा छ। फिल्म ‘सेल्फी किङ’ ले बुधबार प्रिमियर शो राखेको थियो। फिल्म हेरेर सेलिब्रेटीले मन परेको प्रतिक्रिया दिएका थिए।









































