कैलाली, 25 अप्रेल/ हिम शाह
एक महिनादेखि महाकाली पारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन्। संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा ढिलाइ भएको छ। रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला पारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उद्धारको तयारी गरेका छन्। सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धारमा भने ढिलाइ भइरहेको छ। अहिले कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयको निर्देशन पर्खिरहेका छन्। मन्त्रालयले निर्णय गर्न ढिलाइ गर्दा दुई हजार बढी नेपाली एक महिनादेखि सीमा पारि अलपत्र परेका हुन्।
बैतडी पारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन्। अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो।
दार्चुला पारि धार्चुलामा सबैभन्दा बढी नेपाली अलपत्र परेका छन्। हजारभन्दा बढी नेपालीहरूलाई विभिन्न ६ वटा क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बसेको महिनादिनसम्म पनि गृह मन्त्रालयबाट निर्देशन नआउदा उनीहरूलाई नेपाल ल्याउन नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो। ‘हामीले हाम्रो तयारी गरेका छौँ। तर, गृह मन्त्रालयबाट निर्देशन आउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयले निर्देशन दिएलगत्तै उनीहरूको उद्धार हुन्छ।’ दार्चुलाका विभिन्न स्थानीय तहसँग तयारीको लागि समन्वयसमेत भइरहेको उहाँले बताउनुभयो। बैतडी पारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन्। अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो। ‘छलफल थुप्रै भएको छ। तर, निर्देशन आएको छैन। निर्णय आउनासाथ हामी उद्धार गर्छौँ,’ उहाँले भन्नुभयो। झुलाघाट नाका पारि 8 सय 37 जना बैतडीका नागरिक मात्रै अलपत्र परेको प्रजिअ पौडेलले जानकारी दिनुुुभयो। बैतडीसँगै अन्य जिल्लाका पनि नागरिक रहेको उहाँले जानकारी दिनुभयो। उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको पौडेलले बताउनुभयो।
कञ्चनपुरको सीमा पारि पनि 2 सय 51 जना नेपाली अलपत्र परेका छन्। उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको उद्धारका लागि कञ्चनपुरको प्रशासन कार्यालयले तयारी गरेको छ। अहिले प्रमुख जिल्ला अधिकारी नुर खतिवडा गृहको निर्देशन कुरेर बस्नुभएको छ। अलपत्र परेका नेपालीहरूका विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको उहाँले बताउनुभयो। ‘कुरा भइरहेको छ। तर, फाइनल भएको छैन,’ उहाँले भन्नुभयो, ‘हिँजोसम्म ल्याउने भन्ने कुरा भएको थियो। आज त्यस्तो कुनै निर्देशन आएको छैन।’ गड्डाचौकी पारि अलपत्र परेका नेपालीहरूलाई महेन्द्रनगरस्थित वैद्यनाथ बहुमुखी क्याम्पसमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी समेत गरिएको उहाँले जानकारी दिनुभयो।
यता कैलालीको त्रिनगर सीमापारि पनि 120 जना नेपाली अलपत्र परेका छन्। उनीहरूलाई नेपाल ल्याउने विषयमा तयारी भइरहेको छ तर, मन्त्रालयबाट कुनै निर्देशन नआएको प्रशासन कार्यालयले जनाएको छ। सीमापारि अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने र नेपालमा रहेका भारतीय नागरिकलाई भारत फर्काउने विषयमा शनिबार मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबीच छलफल भएको थियो। छलफलमा प्रजिअ बोहराले मुख्यमन्त्री भट्टलाई तत्काल उद्धार हुने जानकारी गराउनुभएको थियो। ‘केही नाकाबाट नेपालीलाई ल्याइएको छ तर, यहाँ निर्देशन आएको छैन,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। निर्देशन आएलगत्तै कैलालीबाट 49 जना भारतीय नागरिकलाई पनि भारत पठाइने जोशीले जानकारी दिनुुुभयो।
यसअघि चैत 25 गते सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशले सिमापारि अलपत्र परेका नेपालीहरुले घर फर्किने अपेक्षा राखेका थिए तर, गृह मन्त्रालयबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नगर्दा उद्धारमा ढिलाइ भएको हो।









































