काठमाण्डौँ, 26 अप्रेल
लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीहरूको नेपाल जाने सपना बैशाख 31 गतेसम्मका लागि लम्बिएको छ। सरकारले अन्तर्राष्ट्रिय सीमानाकाहरु बैशाख 31 गतेसम्म बन्द नै राख्ने निर्णय गरेसँगै नेपाल जाने भनी सीमानाका खुल्नको प्रतीक्षा गरिरहेका नेपालीहरूले स्वदेश जान बैशाख अन्तिमसम्म कुर्नु पर्ने भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले बाह्य देशबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु बैशाख 31 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले लकडाउनको समय 10 दिन थप गर्दै बैशाख 25 गतेसम्म जारी राख्ने निर्णय गरेको छ। पछिल्लो पटक थप भएको समय बैशाख 15 गते सोमबार सकिँदै थियो। पूर्वनिर्धारित लकडाउनको समय सकिनु एक दिन अगाडी नै सरकारले 10 दिन अझ लम्ब्याउने निर्णय गरेको हो।
बैठकले इपीएस अन्तरर्गत कोरिया जाने श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजाने अनुमति दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो।









































