दिल्ली, 27 जुलाई 2022
नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ। दुईबीच भएको भेटको फोटो चौथाइ-वाले-ले ट्विटमार्फत सार्वजनिक गरेका छन्। ट्विटमा चौथाइवालेले 6 महिनाको अन्तरालमा भेट भएको भन्दै खुसी व्यक्त गरेका छन्। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार अघिल्लो वर्ष भदौमा नेपाल भ्रमणमा आएका बेला चौथाइवालेलाई आरजुले प्रधानमन्त्री निवास बालुवाटारमा राखी बाँधिदिएकी थिइन्। त्यतिबेला नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको निमन्त्रणामा आएका चौथाइवालेलाई आरजुले राखी बाँधिदिएपछि ‘राखी कूटनीति’ अपनाइएको भन्दै चर्चा भएको थियो। उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेकी राणा र चौथाइ-वाले-बीच भेट भएको हो। राणा असार अन्तिम हप्ता नयाँ दिल्ली आएकी थिइन्। त्यहाँ उनको पाठेघरको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनी राजनीतिक भेटमा सक्रिय भएकी हुन्। केही दिनअघि उनले नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दिल्लीस्थित नेपाली राजदूतावासमा पनि भेट गरेकी थिइन्। प्रचण्ड भने तीन दिने भ्रमण सकाएर साउन 1 मै नेपाल फर्किएका थिए।









































