बेंगलोर, 6 जनवरी 2020
सरकारले 20 लाख पर्यटकहरु भित्र्याउने लक्ष्यसहित शुरु गरेको भ्रमण वर्ष 2020 अभियानलाई सफल पार्नका लागि सरकारी र विभिन्न नीजिस्तरमा प्रयासहरु भइरहेका छन । यसैबिच प्रवासी नेपाली संघ भारत, कर्नाटक केरला राज्य समितिको आयोजनामा भ्रमण वर्ष 2020 लाई प्रचार-प्रसार गर्ने उद्धेश्य अनुसार बेंगलोर भ्रमण एंव पिकनिक कार्यक्रम गरिएको छ ।

बेङलोरमा रहेका नेपालीहरुलाई अभियानमा जोडेर पिकनिक कार्यक्रम गरि भ्रमण वर्ष 2020 को प्रचार गरिएको हो । पुरै बेङलोरको भ्रमण गरि उनिहरुले स्थानिय भारतीयहरुलाई नेपाल भ्रमणको निम्तो दिएका छन । 300 भन्दा धेरै प्रवासी नेपालीहरुका लागि 4 बसमा बेङलोर भ्रमण गराइएको थियो । नेपाली संस्कृतिको झल्को दिनका लागि उनिहरुले विभिन्न स्थानमा नेपाली नाचगान पनि प्रस्तुत गरेका थिए । काग्गदसस्पुरादेखि शुरु गरिएको भ्रमण हेब्बाल, एयरपोर्ट रोड, यलहक्का, देवनहल्ली हुँदै नन्दी हीलमा करिब 150 किलोमिटरको यात्रा तय गरि सम्पन्न गरिएको थियो ।

भ्रमण एंव पिकनिकमा सहभागि भएका प्रवासी नेपालीहरुले भ्रमण वर्ष 2020 को प्रचार गरिएका टी-सर्ट लगाएका थिए ।
प्रवासी नेपाली संघ भारत कर्नाटका केरला राज्य अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षता, प्रवासी नेपाली संघ भारत लेखा विभाग प्रमुख टेक नारायण पौडेल र राज्य सचिव तिलक कडेलको संयोजनमा गरिएको भ्रमण एंव पिकनिक कार्यक्रममा अखिल भारत नेपाली एकता मन्चका महासचिव चक्र बहादुर मलाती “शितल” को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा मन्चका केन्द्रीय सचिव ऐन बहादुर रावल, केन्द्रिय सचिव गिरिधारी सुवेदी, विद्यार्थी युवा नेता मिनेश रावल र दीपक बी.क. लगायतको सहभागिता थियो ।


भारतको अन्य भागभन्दा पनि दक्षिणी क्षेत्रबाट नेपाल भ्रमणमा जाने पर्यटकहरुको संख्या धेरै रहेकाले बेंगलोरमा रहेका प्रवासी नेपालीहरुले भ्रमण वर्षलाई प्रचार गर्ने काम शुरु गरेका छन । हिजोको कार्यक्रममा प्रवासी नेपालीहरुले आ-आफ्नो कार्यस्थलमा रहेका भारतीयहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने संकल्प पनि लिएका छन ।









































