काठमाण्डौं, 15 जनवरी 2020
आज माघे संक्रान्ती पर्व घिउ, चाकु र तरुललगायतका परिकार खाएर हर्षोल्लासका साथ मनाइँदै छ। धार्मिक र अध्यात्मिक दृष्टिकोणले पनि यो चाड हिन्दु धर्मावलम्बीहरुको विशेष पर्व हो।

मकर संक्रान्तीको नामले चिनिने माघे संक्रान्ती पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ।थारु समुदायले आज माघी पर्व मनाउँदैछन्। थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन्। थारु समुदायले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्।

ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तीदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई ’मकर संक्रान्ती’ भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेपनि सूर्यको कर्कट राशि र मकर राशिमा प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। आजको दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले आजदेखी दिन लामो तथा रात छोटो हुँदै जाने गर्छ।
आज देशका विभिन्न तीर्थस्थलहरूमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ। विशेषगरी नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडीको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताहरुले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।









































