काठमाडौँ, 15 जनवरी 2020
माघे संक्रान्ति वा मकर संक्रान्ति तथा माघी नामले चिनिने यो पर्व माघको पहिलो दिन माघे संक्रान्ति मनाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँने गरेका छन् र नयाँ वर्ष मान्ने गर्छन । मगर समुदायले मुख्य रुपमा धुमधामको साथ मनाउने यो पर्वलाई सेल्र्हेस पनि भनिन्छ ।
नेपालको सबै भुभाग,हिमाल,पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, मगर, राई, लिम्बु,नेवार गुरुङ आदि सबै जनजातीहरुले माघे संक्रान्तिलाई आ आफ्नो परम्परागत रुपले मनाउने गरेको पाइन्छ ।
ज्योतिषीय विज्ञअनुसार सुर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकोले यस दिनको नाम मकर संक्रान्ति रहेको हो । सुर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुने मान्यता छ ।
उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै महत्व पनि छ । माघे संक्रान्तिका दिन घ्यु, चनकु, तिलका लड्डु,तरुल, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने तातो परिकार खाने गरिएको छ ।
माघे संक्रान्तिका दिन गंगामा गई स्नान पनि गरिन्छ । गंगामा स्नान गरिसकेपछि पुरोहित तथा घरका कन्यालाई टिका लगाइदिने चलन पनि छ । साथै मास हालेर तताएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त र छाला सम्बन्धी रोग हट्ने विश्वास समेत गरिन्छ ।









































