आबुधाबी, १७ जनवरी २०२०
आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटनामा परी ३ नेपालीको ज्यान गएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।
एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएको थियो । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको मृत्यु हुदाँ ३ नेपाली रहेको पुष्टि भएको हो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ । यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ ।
घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते भएका छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन ।
घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।
यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।
मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ । बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।