काठमाडौँ , १७ जनवरी २०२०
आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस–१ घर भएका (साविकको) रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न रहेका थिए ।
छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ ८ गते बालिकाको टाउकोमा कोदालो प्रहार गरेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बालिकाको हत्यालगत्तै उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
बालिकाको हत्या गरेपछि बाबुछोरा नै फरार थिए । भारतमा लुकीछिपी बस्दै आएका रामभवनलाई अन्ततः विशेष सुराकीको आधारमा प्रहरीले नेपाल–भारत सीमाबाट माघ २ गते पक्राउ गर्न सफल भयो ।
यता, भारतमै लुकेर बस्दै आएका बालकिाको बाबु रामपनको भने ३ वर्षअघि भारतमै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































