काठमाण्डौँ, 25 जनवरी 2020
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-ले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताउनुभएको छ। पार्टी कार्यालय धुम्बाराहीमा शनिबार “जनताको जनवादका आधारहरु” विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पूँजीवादी क्रान्ति र नवजनवादी क्रान्तिभन्दा भिन्न प्रकृतिको भएको बताउनुभएको बताउनु भयो। नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रुपमा स्थापित गर्दे पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि बिजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
पूँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उहाँले गर्नुभयो।
अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालिन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित “जनताको जनवादका आधारहरु” पुस्तकमाथि युवराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो। पुस्तकमा जनताको जनवादका आधारहरु सम्पादनको आवश्यकता, नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएको छ।









































