नयाँ दिल्ली, 25 जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजीलका राष्ट्रपति जाएर मेसियस बोल्सोनारो बीच नयाँ दिल्लीमा वार्तापछि 11 सम्झौताहरूमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूमा स्वास्थ्य, जैवीक ऊर्जा सहयोग, सांस्कृतिक आदान-प्रदान, भू-गर्भ तथा खनिज संसाधनलगायत कैयौँ महत्त्वपूर्ण क्षेत्रहरू सामेल छन्। साइबर सुरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा पनि सम्झौता भएको छ। ब्राजीलका राष्ट्रपतिको भ्रमणबाट थप 4 वटा सम्झौतामा हस्ताक्षर गरिएको हो।
वार्तापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति बोल्सोनारोको भारत भ्रमण दुवै देशबीच बढ्दो सम्बन्धको उदाहरण भएको बताउनुभयो। उहाँले राष्ट्रपति बोल्सोनारो यस वर्ष गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि हुनु गर्वको विषय भएको पनि बताउनुभयो। प्रधानमन्त्री मोदीले भारत-ब्राजील कूटनीटिक सम्बन्ध साझा आदर्शहरूमाथि आधारित भएको बताउनुभयो। उहाँले दुवै देशले कैयौँ अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गरेको र एक-अर्कोको विकास यात्रामा सहभागी भएको बताउनुभयो। उहाँले रक्षा उद्योगमा सहयोग बढाउन ध्यान केन्द्रीत गरिरहेको समेत बताउनुभयो।
प्रधानमन्त्रीले ब्राजील, भारतको आर्थिक रूपान्तरणमा महत्वपूर्ण सहभागी भएको बताउनुभयो। उहाँले द्विपक्षीय व्यापारमा वृद्धिको उच्च संभावना रहेको पनि बाउनुभयो। विकासशील देशको रूपमा भारत र ब्राजीलले आतङ्कवादसहित बहुपक्षीय मामिलाहरूमा समान दृष्टिकोण राख्ने बताउनुभयो।









































