काठमाण्डौँ, 25 जनवरी 2020
न्यूरोड टिम (एन.आर.टी.)-ले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ। शनिबार भएको खेलमा एन.आर.टी.-ले आर्मीलाई गोलरहित बराबरीमा रोकिको हो। दशरथ रंगशालामा भएको खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग भने गर्न सकेन। इन्जुरी टाइममा एन.आर.टी.-का जुनियर निकुनगुएले रातो कार्ड पाएका थिए। बराबरीमा रोकिएपछि आर्मीले 3 अंकको अग्रता बनाउने अवसर गुमाएको छ। आर्मीले 8 खेलबाट 17 अंक जोडेको छ। समान खेलबाट मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको 16-16 अंक छ। एन.आर.टी. 12 अंकसहित पाँचौ स्थानमा छ।
आजै भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामै भएको खेलमा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले खेलको 64 औँ मिनेटमा गोल गरे। खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ द म्याच घोषित भए। जितसँगै संकटा 12 अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ। फ्रेन्स 8 अंकसहित तालिकाको 12 औँ स्थानमा रहेको छ।
योसंगै सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौँ चरणका खेलहरु सकिएका छन्। लिगअन्तर्गत शनिबार दुई खेल भएका थिए।









































