कैलाली टिकापुर,२९ जनवरी
‘’औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावनाः सम्वृद्ध सुदूरपश्चिमको परिकल्पना’’भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टिकापुर महोत्सव २०७६ मंगलबारदेखि सुरु भएको छ ।
टिकापुरस्थित खुला मैदानमा माघ २६ गतेसम्म जारी रहने महोत्सवको एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभएको छ ।

महोत्सव उद्घाटन समारोहको प्रमुख अतिथि रहनु भएका मन्त्री भट्टराईले टीकापुर हवाईमैदानका बारेमा अध्ययन गर्न प्राविधिक टोली खटाउने जानकारी दिनुभयो । उहाँले हवाईमैदान निर्माणमा स्थानीय तहको समेत संलग्नता रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले टीकापुर घटना राजनीतिक उद्देश्य प्राप्तिका लागि भएपनि गलत तत्वले खेलेको हुनसक्ने बताउनुभयो । उहाँले विगतका सबै तिता कुराहरु बिर्सेर मुलुकलाई नयाँ दिशातर्फ अग्रसर बनाईनुपर्नेमा जोड दिनुभयो ।महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले टीकापुरस्थित हवाईमैदान कालोपत्रे सहित पुर्नसञ्चालन गर्न माग गर्दै एक सुत्रीय मागपत्र मन्त्री भट्टराई समक्ष पेश गर्नुभएको छ ।

सो अवसरमा मन्त्री भट्टराईले समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सात जनालाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट भक्तिराम कोइराला, व्यवशायी टीकाराम जैशी, पत्रकार गणेश चौधरी, कृषक टेकेन्द्र धामी, पर्यटनकर्मी भोजराज ढुंगाना, कलाकर्मी शिशिर साधक र खेलकुद क्षेत्रबाट जनक केसी रहनु भएको छ । उहाँहरु सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
महोत्सव उद्घाटन समारोहमा विशिष्ट अतिथि रहेका सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले विकासका काममा राजनीतिक विवाद गर्न नहुने बताउनुभयो । उहाँले सबैको सहकार्यले मात्रै विकासका काम अघि बढेको बताउनुभयो ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका साँसद उमादेवी बादी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, संघका पूर्वअध्यक्ष नवराज रावल, उपाध्यक्ष चक्रपाणी सापकोटा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव तपेन्द्र स्वाँर र सचिव गणेशराज रेग्मीले सञ्चालन गर्नुभएको थियो । महोत्सवमा विभिन्न समुदायका झाँकी प्रस्तुत गरिएका थिए ।









































