कैलाली, 3 फरवरी 2020/ हिम शाह
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले भ्रमण वर्ष 2020 सफल पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। आईतबार मन्त्रालयमा पर्यटन दूत नेपाल आईडल विजेता रबि ओडसहित आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भ्रमण वर्ष 2020-लाई सफल बनाउन प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडी बढेको बताउनुभयो। मन्त्री भट्टले सरकार एक्लैको पहलमा मात्र भ्रमण वर्ष सफल पार्न नसक्ने भएकोले सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपील गर्नुभयो।
उहाँले प्रदेश सरकारलाई पर्यटन प्रवर्धनमा सहजता मिलोस् भन्ने उद्येश्यले रबि ओडलाई पर्यटन दूत बनाइएको धारणा राख्नुभयो। सुदूरपश्चिम पर्यटकहरूको लागि स्वर्गको टुक्रा रहेको बताउँदै मन्त्री भट्टले अब यसको प्रचार-प्रसारमा जोड दिने बेला आएको बताउनुभयो। प्रदेशका ९ वटै जिल्लाका ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई उजागर गर्न ओडको टोली सफल हुने मन्त्री भट्टले विश्वास व्यक्त गर्नुभयो।
पर्यटन दूत रबि ओडले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा हरसम्भव प्रयास गर्ने बताउनुभयो। उहाँले प्रदेशका सबै जिल्लामा पुगेर प्रचारात्मक अभियान गर्ने जानकारी दिनुभयो। पर्यटन दूत ओडले आधुनिक प्रविधिमार्फत् यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको भिडीयोमा सुट गरेर देश-विदेशमा पुर्याएर प्रचार-प्रसार गर्ने आफ्नो योजना रहेको बताउनुभयो।









































