काठमाण्डौँ, 3 फरवरी 2020
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताउनुभएको छ। नेपाल टेलिभिजनको 35 औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताउनुभएको हो। उहाँले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताउनुभयो। उहाँले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताउनुभयो। त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताउनुभयो। उहाँले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको तर्क गर्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा लयाउने समेत बताउनुभयो।









































