सिलगढी, 4 फरवरी / रुबेन गुरुङ
विश्व क्यान्सर दिवसको उपलक्ष्यमा सिलगढीको तेञ्जीङ नोर्गे मार्गस्थित उत्तरापन मार्केटिङग कम्प्लेक्समा क्यान्सर सचेतना शिविरको आयोजना गरिएको छ। दार्जीलिङ अनकलोजी ट्रस्ट, उत्तरापन मार्केटिङ्ग व्यवसायी वेलफेयर सोसाइटी अनि रेड्डी हेल्थ केयरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । विश्व क्यान्सर दिवस 2020 को नारा “हामी सक्छौं, म सक्छु” लाई अघि राखेर सञ्चालित कार्यक्रममा बङ्गरत्न डा. पीडी भोटिया, डा. सीपी शर्मा, प्रवीण रेड्डी अनि अन्य विशेषज्ञहरुले क्यान्सर कसरी हुन्छ, यसबाट बच्न के के गर्नु पर्छ, भन्ने जानकारी दिएका थिए।


यसक्रममा डा. भोटिया र डा. शर्माले क्यान्सर रोगको बारेमा मानिसहरूले सोधेका प्रश्नको उत्तर पनि दिनुभएको थियो। उत्तरापन मार्केटिङ व्यवसाय वेलफेयर सोसाइटीका रतन घोषले भन्नुभयो, हामी व्यवसायी हौं, तर हामी सिगरेट, तमाखु आदि बिक्री वितरण गर्दैनौं। अहिले राज्य सरकारले पनि यस्ता मादक पदार्थहरू बिक्री वितरणमा रोक लगाएकाले बिक्री गरिरहेका व्यवसायीहरूलाई पनि बिक्री नगर्ने सल्लाह दिन्छौं।


सालबारीमा युवाहरूले लागू पदार्थ प्रयोग गरिरहेको सम्बन्धमा घोषले हामी पुलिस-प्रशासनसित कुरा गरेर त्यस क्षेत्रमा निरीक्षण गराई त्यस्ता कुरासित सम्बद्ध सबैमाथि कारवाही गराउने जानकारी गराउनुभयो। क्यान्सर रोकथामको बारेमा सचेतना कार्यक्रम शहरमा गराउन सजिलो छ, गाउँ-बस्ती, कुना-कन्दरामा पनि यस्ता कार्यक्रम गर्ने कुनै योजना छैन भनेर गरेको प्रश्नमा डा. पीडी भोडयाले भन्नुभयो, म स्वयं पहाडमा जन्मेको हुनाले त्यस्ता क्षेत्रमा हामी यस्ता सचेतना कार्यक्रमको आयोजन गर्ने बताउनुभयो।










































