कैलाली, 4 फरवरी 2020/ हिम शाह
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पुरानै स्वास्थ्य संरचनाबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकिने बताउनुभएको छ। मङ्गलबार विश्व स्वास्थ्य संगठनले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय समन्वय बैठकमा नगर प्रमुख वडले यस्तो धारणा राख्नुभएको हो।
नगरप्रमुख वडले प्रदेशको एक मात्र रिफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा दशकौँ पुरानो संरचना र त्यही संख्यामा स्वास्थ्यकर्मीहरु रहेको बताउँदै जनसंख्या तेब्बर भैसक्दा कसरी गुणस्तरीय सेवा दिन सक्छ भन्दै प्रश्न गर्नुभयो। यसका लागि प्रदेश सरकारले प्रदेशको स्वास्थ्यसम्बन्धी योजना बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो। दाताहरुले कुन ठाउँमा सहयोग गर्ने भनेको बेला योजना नै नहुने गरेको उहाँले बताउनुभयो। प्रदेशले चाँडो योजना बनाएको खण्डमा स्थानीय सरकारले सोही अनुरूप काम गर्न तयार रहेको उहाँले बताउनुभयो।योजना बमोजिम काम हुन नसक्दा उपलब्धी हासिल नहुने बताउँदै नगर प्रमुख वडले धनगढी उपमहानगरपालिका गुरू योजना बनाएर नै काम गरिरहेको जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव झंकर बिष्टले प्रदेश सरकार सेती प्रादेशिक अस्पतालको स्तरोन्नती गर्न तयार रहेको बताउनुभयो। उहाँले पहिलेकोभन्दा अहिले सेती प्रादेशिक अस्पतालको अवस्थामा सुधार आएको बताउनुभयो।









































