काठमाडौं, ६ फरवरी, २०२०
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी राखिएको बताए ।
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका उनलाई उपचारका लागि सिभिल अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
नयाँबानेश्वरको आलोकनगरमा गत मंगलवार राति उनको शंकास्पद मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।
५१ वर्षीय गिरी शरीरका विभिन्न अंग र छातिमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा भेटिएका थिए । होटल संचालकले प्रमाण नष्ट गरेको आरेप पनि आफन्तले लगाएका छन् ।









































