अछाम, 6 फरवरी 2020/ हिम शाह
संकास्पद अवस्थामा मृत भेटिएका अछामको पन्चदेवल बिनायक नगरपालिका 2-का वडाध्यक्ष पदमबहादुर धामीको मृत्युमा पार्टीको झण्डा आधा झुकाउने नेपाली काँग्रेस अछामले निर्णय गरेको छ। मृतक धामीको श्रद्धाञ्जलीका लागि भोली शुक्रबार एक दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको नेपाली काँग्रेस अछामका सभापति भरत कुमार स्वारले जानकारी दिनुभयो।
यस्तै सदस्यता नविकरणलगायत भोलीका लागि सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू पनि शुक्रबारका लागि स्थगित गरिएको नेपाली काँग्रेस अछामले जनाएको छ। स्वर्गिय वडाध्यक्ष धामीको शब श्रद्धाञ्जलीको लागि भोली पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर 2-मा बिहान 10 बजेदेखी 11 बजेसम्म र 11 बजेदेखी 12 बजेसम्म नगरपालिकामा राखिनेछ। त्यसपछि अन्तिम संस्कारका लागि शब यात्रा हुने बताईएको छ।
पञ्चदेवल बिनायक नगरपालिकाको बैठकले घटनाको सत्यतथ्य छानविनमा सहयोग, मृतकका सन्ततिको शिक्षादिक्षा तथा राहतका लागि केन्द्र सरकारसँग माग गर्ने लगायत निर्णय गरेपछि शव उठाउने सहमति भएको थियो।
बिहिबार नै मृतक धामीको शबको जिल्ला अस्पताल मंगलसैनमा पोष्टमार्टम गरिएको छ। यस्तै अनुसन्धान नटुंगिदासम्म वडा र नगरका सम्पूर्ण सरकारी कामकाज बन्द गर्ने, बिनायक बजारमा धामीको सालिक स्थापना गर्ने, मृतकका 3 सन्तानलाई पढ्न चाहेको तहसम्म नगरपालिकाले अध्यापन गराउने निर्णय गरेको मेयर देवराज देवकोटाले जानकारी दिनुभयो। नगरपालिकाको उक्त निर्णयपछि शवको पोस्टमार्टम गर्न पीडित परिवार सहमत भएका थिए।
नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित धामीको शव मंगलबार बिहान 5 बजे गैरीगाँउस्थित गोठछानामा फेला परेको थियो।
यसैबिच मृतक धामीको शंकास्पद तरिकाले मृत्यु भएको भन्दै नेपाल प्रहरीले खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।









































