कैलाली, 6 फरवरी 2020/ हिम शाह
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधिले जनप्रतिनिधिलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई पारदर्शी बनाएर सुशासनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। बिहिबार धनगढीमा नेपालमा सार्वजनिक क्षेत्रको जवाफदेहिताका लागि प्रविधिको दिगो प्रयोग सुशासन प्रर्वधनमा सूचना प्रविधिको महत्व सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख वडले सूचना प्रविधिले सुशासनमा अग्रणी भूमिका खेलेको बताउनुभयो। उहाँले उपमहानगरपालिकाले सूचना प्रविधिलाई अवलम्बन गरि आफ्नो डाटा पोर्टलमार्फत नगरसभाबाट हुने विभिन्न किसिमका निर्णय, बजेट, योजनालगायत कार्यसम्पादनका गतिविधि जनमानसमा सजिलै पुर्याइरहेको दावी गर्नुभयो।
कार्यक्रममा ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले सूचना तथा प्रविधिकै माध्यमबाट जनप्रतिनिधि र स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य रहेको बताउनुभयो।
सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करियाप्रधानले स्थानीय तहले सञ्चालनमा ल्याएका डाटा पोर्टलबारे जानकारी आमजनतासामू पुर्याउन मिडियाकर्मीको महत्वपूर्ण भूमिका रहेको भन्दै सम्पूर्ण मिडियाकर्मीलाई डाटा पोर्टलबारे प्रचार-प्रसार गरिदिन आग्रह गर्नुभयो।
ग्राम विकास तथा अनुसन्धान केन्द्रको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा भएको कार्यक्रमा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।









































