काठमाण्डौँ, 7 फरवरी 2020
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली काँग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा काँग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्। तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गर्नुभयो। कानून धनि गरिब सबैलाई बराबर हुने भएपनि त्यसो हुन नसकेको भन्दै उहाँले अख्तियारलाई बालुवाटारमा राखेर भातृ संगठन जस्तो बनाए हुने तर्क गर्नुभयो।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मुल्यमा दिने निर्णय गर्दै गएको बताउनुभयो। अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिनुहुँदै उहाँले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिनुभयो।
प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए। आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ। नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो।









































