काठमाण्डौँ, 7 फरवरी 2020
श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौँ–पोखरा उडान सुरु गरेको छ। 80 सिट क्षमताको ड्यास एट क्यु 400 जहाजबाट उडान सुरु गरिएको एयरलाइन्सले जनाएको छ। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौँ–पोखरा–काठमाडौँ दैनिक 2 वटा उडान गर्ने र माग अनुसार 5 वटासम्म उडान गर्ने योजना रहको बताउनुभयो। पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष 2020-लाई लक्षित गरी पोखरा उडान सुरु गरिएको उहाँले बताउनुभयो। उहाँले केही दिनका लागि काठमाडौँदेखि पोखरा उडाको भाडा 2 हजार रुपैयाँ र पोखरादेखि काठमाडौँको भाडा 2 हजार 6 सय रुपैयाँ तोकिएको बताउनुभयो।
एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु 400 जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताउनुभयो। उहाँले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताउनुभयो।
श्रीले यसअघि 6 वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगंज, धनगढीलगायतका विमानस्थलमा सेवा दिदैँ आएको छ। सेवा बढाउँदै जाने रणनीतिअनुसार श्रीले थप 3 वटा ड्यास एट क्यु 400 जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताउनुभयो। उहाँले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत 3 वटा भाडादर उपलब्ध गराएको बताउनुभयो। भाडादर अन्य एयरलाइन्सकोभन्दा कम हुने समेत उहाँले बताउनुभयो।









































