बिराटनगर, 7 फरवरी 2020
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)-का वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने बताउनुभएको छ। बिराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्नुहुँदै उहाँले उक्त प्रकरणमा अनुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुक्ति दिन नहुने बताउनुभयो। कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताउनुभयो। नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गर्नुहुँदै आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताउनुभयो। उहाँले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पार्नुभयो।
उहाँले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुद्धा नलगाइएको दावी गर्नुभयो। एमसीसी-का विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताउनुभयो। एमसीसी-को विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउनुहुँदै उहाँले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुंग्याउनु पर्ने बताउनुभयो। नेता नेपालले सरकाले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुखि नेपालीको अभिभारालाई पूरा गर्नुपर्नेमा जोड समेत दिनुभयो।









































